दफा २५७
सगोलको सम्पत्ति मानिने

(१) दफा २५६ को अधीनमा रही सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति सगोलको सम्पत्ति मानिनेछ :–
(क) पुख्र्याैलीबाट प्राप्त सम्पत्ति,
(ख) निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति,
(ग) अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति ।
(२) कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ ।
(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति मानिनेछ ।
(४) सगोलको सम्पत्तिको उपभोग, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस संहिताको अन्य परिच्छेद बमोजिम हुनेछ ।